नियम
निर्वाचन कार्यक्रम निर्धारण
(१) ऐनको दफा ६ बमोजिम निर्वाचनको मिति तोकिएको सूचना प्रकाशन भएपछि आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि निर्वाचनमा भाग लिन चाहने दलले आयोगमा निवेदन पेश गर्ने, उम्मेदवारको बन्दसूची पेश गर्ने, उम्मेदवारको बन्दसूची जाँचबुझ गर्ने, बन्दसूची सच्याउने, उम्मेदवारको बन्दसूची प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको बन्दसूची उपर दाबी विरोध गर्ने, उम्मेदवारको बन्दसूची उपर छानबीन गर्ने र उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने समेतको निर्वाचन कार्यक्रम निर्धारण गर्नेछ । (२) आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने, उम्मेदवारीको दाबी विरोधमा उजूरी दिने, मनोनयनपत्र र उजूरी उपर जाँचबुझ गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र मतदान गर्ने मिति, समय र  स्थान समेत उल्लेख भएको निर्वाचन कार्यक्रम निर्धारण गर्नु पर्नेछ । (३) उपनियम (१) र (२) बमोजिम आयोगले निर्धारण गरेको निर्वाचन कार्यक्रमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।